रत्ननगर । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सव हरेक वर्ष झैँ पौष २८ देखि माघ १० सम्म हुने भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजना रहेको महोत्सवले थारु संस्कृतिको जगेर्ना गर्नको निम्ति महोत्सब संचालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि गराएको हो । माघी पर्व ,माघ १ गते थारु जातिको नव वर्षको रुपमा मान्ने गरेका छन् । थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै आएको छ । आदिमकालदेखि आदिवासी थारु समुदायको बसोबास रहेको चितवन जिल्लाकै पहिलो खिचरा महोत्सले आफ्नै विशेषता र महत्व रहेको संयोजक चौधरीले बताए । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान“ भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको नवौ खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि २०१ सदस्यीय खिचरा महोत्सव मुलआयोजक र १५ वटा विभिन्न विषयगत समितिहरु गठन गरिएका छन् । खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवर्द्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको छ । यस महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई सम्पूर्ण जातजातिहरुले गर्वको रुपमा लिने गरेको संयोजक रामेश्वर चौधरीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीयकला संस्कृक्तिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन गराउन १५० बटा स्टल रहने छ । होटल स्टलहरुमा थारु जातिका साथ–साथै विभिन्न जातिका खानाका परिकार तथा शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर समेत रहनेछ । महोत्सबकै अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । विगतवर्ष झै यसवर्ष पनि महोत्सबमा प्रवेशका लागि टिकट शुल्क रुपमा रु ५० र विद्यार्थीका लागि परिचयपत्रको माघारमा रु.३० कायम गरिएको थारू कल्याणकारिणी सभाकी केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले जानकारी दिइन् । जेष्ठ नागरिक र अपाङगहरुलाई पनि सहुलियत दरको टिकट कायम गरिएको छ भने टिकटघरमा हुने बत्यधिक भिडभाड नियन्त्रणका लागि डिजिटल प्रविधिबाट टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । साँस्कृतिक कार्यक्रम तर्फ महोत्सव अवधिभर ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच जस्ता साँस्कृतिक नाचगीतहरुको बेजोड प्रस्तुति रहनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा खिचरा डान्स नाइडल रहनेछ । विगत वर्ष भौ यसवर्ष पनि महोत्सवबाट विभिन्न विधामा नगदसहित सम्मान गरिनेछ । पूर्वी चितवन तरकारी खेतीको मुख्य केन्द्रविन्दु रहेको हुँदा हरेक वर्षझै कृषकहरुलाई नगदसहित सम्मान गरिनेछ । समापन कार्यक्रममा आदिबासी जनजातिका सवालहरुमा क्रियाशिल रहेका चितवनका पत्रकारहरु मध्ये एकजनालाई नगदसहित सम्मान गरिनेछ । महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ । महोत्सवको सह–आयोजकको रुपमा उद्योग वाणिज्य संघ खैरहनी तथा सहयोगी संस्थाको रुपमा खैरहनी चेम्बर अफ कमर्श, नेपाल विद्युत् प्राधिकरण टाँडी शाखा, पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था एवम् थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ देखि १० सम्म रहेको छ । महोत्सवका समुदघाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने आयोजकले जनाएको छ । थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडाध्यक्षहरु छत्रनाथ सुवेदी, मनेजर चौधरी, बन्धुराम महतो, कार्यबहाक वडाध्यक्ष सुरेन्द्र चौधरी,थाकसका केन्द्रीय पार्षद कृष्णलाल चौधरी, थाकस क्षेत्र नं ७ का संस्थापक अध्यक्ष नारायण महतो लगायतको उपस्थिति रहेको थियो ।